logo of Prayatna
cover image for the publication showing some books and prayatna logo with the text Resources
Publication Source: Others
Publication Type:none
Source Organization: ekagaj

Publication Links

अपाङ्गता भएका किशोरीहरूको मर्यादित महिनावारी, कसको हो जिम्मेवारी ?

December 20, 2022

नेपाली परिवेशमा महिनावारीलाई अझै पनि सहजै स्विकारेको पाइँदैन । अझै पनि नेपालको कतिपय भूभागमा छाउपडी प्रथा विद्यमान रहेको छ । सन्दर्भ यहाँ अपाङ्गता भएका महिलाहरूको महिनावारीको हो ।

यो विषयलाई व्यक्तिगत र कलंकित विषयका रूपमा लिइने भएकाले यस विषयमा खुलेर र सार्वजनिक रूपमा बिरलै चर्चा गरिन्छ । प्राय अपाङ्गता भएका किशोरीहरूले महिनावारीको बारेमा सुनेका भए पनि पहिलो महिनावारी नभएसम्म उनीहरूलाई यो वास्तवमा के हो थाहा नभएको कुरा प्रयत्न नेपाल नामक गैरसरकारी संस्थाले गरेको एक अनुसन्धानका सहभागीहरू बताउँछन् । महिनावारीलाई लुकाउने अभ्यासले आफूहरूलाई किशोरावस्थामा हुने शारीरिक र मनोवैज्ञानिक परिवर्तनहरूका बारेमा आवश्यक बुझाइ विकास गर्न नपाएकाले उनीहरू आफ्नो व्यक्तिगत स्वास्थ्य र सरसफाइका लागि राम्रोसँग तयार हुन सकेका छैनन् ।

विशेष गरी यसप्रति अरूको प्रारम्भिक नकारात्मक प्रतिक्रियाहरू जस्तै: ‘अब तिमी ठूली भइसकेकी छौ’, ‘अब हामीले उसले छोएको चिज नखाने’ र ‘पुरुष सदस्यहरूबाट टाढै रहनु पर्दछ, महिनावारी हुँदा उनीहरूले तिमीलाई नदेखून्’ भन्ने चेतावनी समेतले बहिष्करणको अनुमानित डर सृजना गर्दछ । जसको परिणाम स्वरूप महिनावारीलाई दुःखद् अनुभूतिसँग जोड्ने गरिन्छ । यसै सन्दर्भमा एक अपाङ्गता भएकी महिलाको अनुभवलाई जोडौँ । ‘मलाई पहिलो पटक महिनावारी हुँदा पेट दुखेको पनि थिएन मेरा दिदीहरू र होस्टलका साथिहरू महिनावारी हुँदा रोएको देखेर पहिलो पटक महिनावारी हुँदा रुनै पर्दो रहेछ भन्ने सोचेर मपनि रोइदिए ।’

अपाङ्गतालाई अक्षमतासँग जोड्ने परिपाटीको असर महिनावारी स्वास्थ्य व्यवस्थापनमा पनि परेको देखिन्छ । यसलाई पुष्टि गर्न एक जना अपाङ्गता भएकी महिलाको अनुभवल जोडौँ । ‘जब मैले आमालाई मेरो महिनावारीको बारेमा बताएँ, उहाँ धेरै चिन्तित हुनु भएर मैले कसरी व्यवस्थापन गर्ने भनेर धेरै रुनुभयो । बाहिर छिमेकी आएर पनि त्यही कुरा भने जसले मेरी आमालाई थप तनाव दियो ।’

परिवारले अपाङ्गता भएका व्यक्तिहरूको महिनावारीलाई झन्झटका रूपमा लिएको कुरा पोखरास्थित अमरसिंह मा विमा अध्यानरत एक दृष्टिविहीन छात्रा बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो नातेदारमा एक जना दिदी हुनुहुन्थ्यो जो किशोर अवस्था पार गरी सक्दा पनि महिनावारी हुनुभएको थिएन, मेरा कतिपय नातेदारहरूले म पहिलो पटक महिनावारी हुँदा बिचरा यस्तो मान्छे महिनावारी हुनुभन्दा यसको सट्टा त्यो भएको भए हुनेथियो भन्नुभयो ।’ अपाङ्गता भएका किशोरीहरूले महिनावारी हुनुअघि नै यसको विषयमा सही सूचना पाएका हुँदैनन् । प्रयत्न नेपालले गरेको अनुसन्धानको एक सहभागीले महिनावारी हुन ६ कक्षामा सुरु भएको तर विस्तृत रूपमा जानकारी चाहिँ कक्षा ९ मा पढेपछि प्राप्त भएको सन्दर्भ उल्लेख गरेकी छिन् । समयमा महिनावारीको शिक्षा नपाउँदा कस्तो चुनौती झेल्नुपर्दछ भन्ने कुरालाई तलका सन्दर्भहरूले जनाउँछ ।

एक दृष्टिविहीन किशोरी भन्छिन्, ‘म साथीहरूसँग खेलिरहँदा मेरो पहिलो महिनावारी भएको थियो । मसँग यसको बारेमा आवश्यक बुझाइ नभएकाले, मैले सोचेँ कि मैले आफैँलाई चोट पुर्याएको हुनुपर्छ । मलाई केटीहरूको महिनावारी कसरी हुन्छ थाहा थिएन ।’ त्यसैगरी एक दृष्टिविहिन किशोरी भन्छिन्, ‘मलाई थाहा थियो कि केटीहरू महिनावारीबाट गुज्रन्छन् तर मलाई थाहा थिएन यो के हो । जब मेरो पहिलो महिनावारी भयो, मेरी आमाले मलाई कपडाको ‘टालो’ दिनुभयो । मलाई यो कसरी प्रयोग गर्ने थाहा थिएन, त्यसैले मैले यसलाई मेरो योनिमा कोचेँ ।’ समयमै सही सूचना नपाउँदा भोगेको समस्या उल्लेख गर्दै अर्को एक बहिरा अपाङ्गता भएकी किशोरी भन्छिन्, ‘जब मेरो पहिलो महिनावारी भयो, मलाई लाग्यो कि मलाई मेरो योनिबाट पखाला लागेको छ ।’ प्रयत्न नेपालद्वारा गोरखामा आयोजना गरिएको महिनावारी स्वास्थ्य व्यवस्थापन कार्यशालाको एक सहभागीले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भनिन्, ‘मेरी आमाले महिनावारीको बारेमा बताउँदै गर्दा समय आएपछि निधारमा लगाउने टीका जस्तै रातो रङ आउँछ बताउनुभयो । त्यो टीका कहाँबाट र कसरी आउँछ भनेर १३–१४ वर्षको हुँदासम्म सोचिरहन्थेँ ।’

कतिपय शैक्षिक संघ–संस्थाहरूले अपाङ्गता भएका बालिकाहरूलाई लक्षित गरी महिनावारी शिक्षा दिनुपर्ने कुरालाई ठाडै अस्वीकार गरेका छन् । ‘कीर्तिपुरस्थित ल्याब्रोटरी माविका दृष्टिविहीन बालिकाहरूलाई महिनावारी सचेतनाको कार्यक्रम सञ्चालन गर्ने कुरा गर्दा विद्यार्थीको पढाइ बिग्रन्छ त्यसैले यो सम्भव छैन’ भनेर उक्त विद्यालयको प्रधानाध्यापकबाट जवाफ पाएको कुरा महिनावारी स्वास्थ्य व्यवस्थापन सचेतनात्मक कार्यक्रम सञ्चालन गरिरहेका अपाङ्गता भएका व्यक्तिहरूको सवालमा कार्यरत संस्थाको एक प्रतिनिधि बताउँछिन् । त्यसै गरी महिनावारीमा पहुँचयुक्तताको सवाल त झन् छायाँमा परेको छ । हाम्रा सार्वजैनिक शौचालयहरू अपाङ्गतामैत्री नहुँदा महिनावारी अत्यन्त चुनौतीपूर्ण भएको कुरा एक जना ह्विलचियर प्रयोगकर्ता महिला बताउँछिन् ।

उनी भन्छिन्, ‘म कीर्तिपुरबाट कोटेश्वर जानुपरेको थियो । त्यही समयमा मलाई प्याड परिवर्तन गर्नुपर्यो शौचालयमा सहजै ह्विलचियर जान नसक्दा मैले ह्विल चियरबाट ओर्लेर हात र खुट्टाले बामे सर्दै शौचालय गएर प्याड परिवर्तन गरेँ ।  त्यस्तै, विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा महिनाको चार दिन विद्यालयमा गयल हुनु परेको पीडा शारीरिक अपाङ्गता भएका विद्यार्थी बताउँछिन् । उचित डस्टबिनको अभाव र विद्यालयको शौचालयमा नियमित पानी नहुँदा दृष्टिविहीन महिलाले हात धुने र प्याडलाई व्यवस्थित ठाउँमा फाल्ने चुनौती बनेको छ । त्यस्तै, सेनेटरी प्याडको मिति ब्रेलमा लेखिएको नभएकाले म्याद सकिएको प्याड प्रयोग गर्ने जोखिम दृष्टिविहीन समुदायमा छ । त्यसै गरी मेडिकल र किराना पसलका प्रतिनिधिलाई सांकेतिक भाषाको ज्ञान नभएकाले बहिरा महिलालाई प्याड किन्न समेत गाह्रो हुन्छ । साङ्केतिक भाषामा महिनावारीसम्बन्धी सचेतनामूलक सामग्रीको अभावले बहिरा महिला र बालिकाहरूलाई चुनौती थपेको छ ।

श्रवण दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूको सवालमा सीमित सञ्चार र जानकारीका कारण उनीहरूको शरीरमा के हुन्छ र भइरहेको छ भनेर बुझ्न समस्या हुन्छ । तसर्थ ती महिलाहरूले प्रायः आफ्नो प्याडहरू टोक्ने र फ्याँक्ने गर्दछन् । पूर्णरूपले असक्त, अटिजम र बौद्धिक अपाङ्गता भएका बालिकाहरूले आफ्नो दैनिक कामका लागि पूर्णतया अरूमा भर पर्नुपर्ने भएकाले तिनीहरूको प्याडहरू आमा वा परिवारका अन्य महिला सदस्यहरूले र तिनीहरूको अनुपस्थितिमा परिवारका पुरुष सदस्यहरूले परिवर्तन गरिदिनु पर्दछ । जसका कारण उनीहरूमाथि हिंसाको जोखिम बढ्न सक्छ किनभने बौद्धिक अपाङ्गता भएका बालिका/महिलाहरूले राम्रो र नराम्रो स्पर्श छुट्याउन सक्दैनन् । फलस्वरूप, समाजले केही अपाङ्गता भएका व्यक्तिहरूमा तीव्र यौन इच्छा हुन्छ भन्ने भ्रम फैलिएको छ ।
अन्ततः सबै महिला र तिनका परिवारका लागि महिनावारी स्वास्थ्य, सरसफाइ र अभ्यासहरू मर्यादित बनाउनु आवश्यक छ । जुन एक अनन्तः संघर्ष हो जसका लागि अपाङ्गता भएका महिलाहरूलाई साथ र समर्थन आवश्यक छ । हाम्रो समाजलाई यस दिशामा संवेदनशीलता र स्वीकार्यताका साथ काम गर्न अझै धेरै हातहरू चाहिन्छ ।

logo of Prayatna
Prayatna Nepal is an organization established to works for visually impaired women and girls. We empower visually impaired women and girls to take their lives in their own hand.
Copyright © 2023 Prayatna Nepal. Website by: Diverse Patterns
magnifiercrossmenuchevron-down Skip to content